वि.सं:
नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२
नेपाल न्यायसेवाको क्षेत्रमा कार्यरत जनशक्तिको ज्ञान,सीप र दक्षता अभिवृद्धि गर्दै त्यस्ता जनशक्तिको मनोवृत्तिमा सुधार ल्याई निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउने राष्ट्रिय तालिम नीतिको दीर्घकालीन सोच अनुरुपको बनाउन तालिम सञ्चालन गर्ने, अनुसन्धानमुलक लेख सामग्रीहरु प्रकाशन गर्ने एवं व्यवसायिक सीप, वृत्ति विकास र पेशागत दक्षतामा सुधार ल्याउने उद्देश्यले नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत विभागस्तरको कार्यालयको रुपमा स्थापना भएको न्याय सेवा तालिम केन्द्र कानुन र न्यायसम्बन्धी तालिम प्रदायक संस्थाको रुपमा स्थापित भएको हो । यस तालिम केन्द्रले नेपाल न्यायसेवा (कानुन, न्याय र सरकारी वकील) समूहका कर्मचारीहरुको वृत्ति विकासको अवसर सुनिश्चित गर्न तथा समसामयिक विषयमा पेशागत ज्ञान एवं सीपको विकास गर्ने अभिप्रायबाट बिक्रम सम्वत् २०३८ साल असार 18 गते स्थापना भई निरन्तर रुपमा विभिन्न तह र श्रेणीका कर्मचारीहरुलाई तालिम प्रदान गर्दै आइरहेको छ ।
यस केन्द्रले न्यायसेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई तालिम, अर्धन्यायिक निकायमा कार्यरत कर्मचारीहरुका लागि कानुन र न्याय सम्बन्धी तालिम प्रदान गर्ने कार्यका अतिरिक्त बिक्रम सम्वत् 2068 साल देखि प्रमुख जिल्ला अधिकारीको योग्यताका लागि नेपाल प्रशासन सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकृतहरुलाई समेत तालिम सञ्चालन गर्दै आएको छ । साथै, तालिमको आवश्यकता पहिचान गर्ने, तालिम पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, सेवा प्रवेश, सेवाकालीन, विशिष्टिकृत तथा अल्पकालीन तालिम सञ्चालन गर्ने ‚ वार्षिक रुपमा न्याय र कानून सम्बन्धी खोज तथा अनुसन्धानमूलक मिमांशा पत्रिका समेत प्रकाशन गर्ने लगायतका कार्यहरु नियमित रुपमा सम्पादन गर्दै आएको छ ।